Logo

बुधवार, कार्तिक १२ गते २०८३

रु दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

रु दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

  • समाचार
  • भाद्र १, २०८२ आइतवार ०७:५९ बजे
  • 502
    SHARES
  • रु दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

    बनियानी (झापा), १ भदौ : झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।

    कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।

    शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो ।

    “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उहाँले भन्नुभयो, “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

    कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिनुभयो ।

    गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उहाँले बताउनुभयो ।

    विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उहाँले बताउनुभयो ।

    दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उहाँले बताउनुभयो ।

    कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

    निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ ।

    विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ ।

    विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend