Logo

बुधवार, कार्तिक १२ गते २०८३

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

  • समाचार
  • चैत्र १५, २०८० बिहिवार २०:५१ बजे
  • 592
    SHARES
  • काठमाडौँ, १५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

    सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताउनुभयो ।

    “चालु आर्थिक वर्षको यस अवधिमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्न सफल भएका छौँ, सुशासनको क्षेत्रमा पनि नयाँ पहल अघि बढाइएको छ,” प्रधानमन्त्री प्रचण्ड भन्नुभयो, “तर, विकास निर्माणको क्षेत्रमा भने अपेक्षाअनुसार धेरै काम गर्नुपर्ने तथ्य आजको प्रगति विवरणले देखाएको छ ।”

    राष्ट्रिय योजना आयोगले १६ औँ योजना तर्जुमाको कार्य अन्तिम चरणमा पुर्‍याएको जानकारी दिँदै प्रधानमन्त्रीले विकास प्रयासमा देखिएका मूलभुत सवाल तथा चुनौतिलाई समाधन गरी ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ लक्ष्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बदलिँदो परिवेशमा गत हप्ता घोषणा गरिएको सरकारका नीतिगत प्राथमिकता र साझा सङ्कल्प आवधिक योजनाले समावेश गर्न आवश्यक छ भन्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने यस १६ औँ योजनालाई कार्यान्वयन योग्य तथा रूपान्तरणकारी बनाउन निर्देशन गर्नुभयो ।

    राष्ट्रिय विकास समस्या समाधान समितिको यस ५२ औँ बैठकमा आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा नेपाल सरकारका विभिन्न मन्त्रालयहरू तथा प्रदेश सरकारहरूबाट भए गरेका कामकारबाहीको समीक्षा प्रस्तुत गरिएको छ । उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरूलगायत उपस्थित विभिन्न व्यक्तिहरूले आफ्ना भनाइ, राय प्रतिक्रिया राख्नुभएको थियो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend