Logo

बुधवार, कार्तिक १२ गते २०८३

भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

  • समाचार
  • चैत्र २५, २०८२ बुधवार ०६:३३ बजे
  • 412
    SHARES
  • भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता

    म्याग्दी (बेनी), २५ चैतः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिककला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलावासीले भने भूमे पूजामा हुने सांस्कृतिक पाटोलाई जीवन्त राखेका हुन् ।

    हरेक वर्षको चैतको उजेली मङ्गलबारको दिन चिम खोलाको सेवाङ्ग धुरीमा रहेको भूमे थानमा विधिपूर्वक प्रकृति पूजाको रुपमा भूमे देवताको पूजाआजा गरेपछि स्थानीयले देवतालाई खुसी बनाउन मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने चलन रहीआएको रघुगङ्गा–७ का वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो ।

    ‘‘पुर्खादेखि नै चल्नै आएको परम्परा र मान्यता बमोजिम भूमे पूजा हुँदै आएको छ, अग्रजहरुले गर्दै आएको चलनलाई अहिले निरन्तरता दिइएको छ’’, उहाँले भन्नुभयो । भूमे थानमा पुन थरका पुजारीले पूजा गराउने चलन छ भने पूजामा सहभागी हुन देश तथा विदेशमा रहेका चिमखोलावासीका साथै छिमेकी गाउँबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

    मङ्गलवार सयौँको सङ्ख्यामा भूमे थानमा पुगेका स्थानीयवासीले पुरानो परम्परालाई निरन्तरता दिएर भूमे देवताको पूजा गरेका छन् । भूमे पूजामा सेदो भाकामा गीत गाएर देवीदेवतालाई पुकार्ने परम्परालाई निरन्तरता दिएको चिमखोलाका ८४ वर्षीय लबहादुर पुनले बताउनुभयो । भूमे पूजामा विशेष महत्वका साथ गाइने सेदो भाकाको प्रस्तुतीका लागि यसवर्ष ज्येष्ठ नागरिक लबहादुर पुन र बहादुर तिलिजा समेत भूमे थान पुग्नुभएको थियो ।

    भूमेलाई साँडको बलंी दिएर पूजा गरेपछि छेमा र पूजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकापसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने चलन छ । वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने चलन रहेको स्थानीय ध्रुवकुमार पाइजाले बताउनुभयो ।

    गाउँभेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने गर्छन् । छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमे थानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गार एकअर्कालाई दलेर नाचगान गरी भूमे पूजा गर्ने चिमखोलामा चल्दै आएको परम्परा हो । भूमे थानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ । भूमे थानबाट गाउँ फर्कने क्रममा पञ्चेबाजा रसेदो भाकाका साथै भैच मायाले (साइलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ ।

    यसरी गाउँ फर्कदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पु¥याउने गर्दछन् भने हिमालयन आमा समूहले फूलमालाले स्वागत गर्छन् । भूमे पूजाको अवसरमा चिम खोलामा परम्परागत रुपमा मेला लाग्दै आएको छ । मेलामा टोपा नाच प्रदर्शनसँगै सरमाजाले जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाचसँगै थाली नाचलगायत मौलिककला र संस्कृति देखाउने चलन छ । भूमे पूजाको दिनमा चिम खोलाको मण्डली र ताप्केभेरा थानमासमेत विशेष पूजा गरिएको छ । भाकल र मनोआकाङ्क्षा पूरा हुने जनविश्वासले मण्डली थानमा विभिन्न ठाउँबाट भाकल गरेर पूजा गर्न आउने भक्तजन बढ्दै गएका छन् ।


    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend