Logo

बुधवार, कार्तिक १२ गते २०८३

रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने मन्त्री किरातीकाे घोषणा

रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने मन्त्री किरातीकाे घोषणा

  • समाचार
  • मंसिर २७, २०८० बुधवार १९:४३ बजे
  • 814
    SHARES
  • रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने मन्त्री किरातीकाे घोषणा

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

    लोकसंस्कृतिमार्फत पुँजी निर्माण र पर्यटनको टेवा दिने लक्ष्यका साथ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आज आयोजना गर्ने ‘माटोको गीत’ नामक ठेट नेपाली सांस्कृतिक कार्यक्रमको आज घोषणा गर्दै मन्त्री किरातीले संविधानको मर्म र समाजवादको लक्ष्यलाई आत्मसात् गर्दै भूगोल र संस्कृतिको सम्वद्र्धनसहित स्थानीय कलाकारलाई राष्ट्रियकरण गर्दै नेपालीपनको पर्यटनको विस्तार गरिने बताए ।

    मन्त्री किरातीले विश्वका पाहुना नेपालमा आउँदा नेपाली संस्कृतिको प्रस्तुति हेरुन् र नेपालको सांस्कृतिक तस्बिर दिमागमा लिएर जान सकून, जसले पर्यटन र रोजगारीलाई टेवा दिन सकोस् भन्ने आफूहरुको अभिप्राय भएको बताए ।

    मुलुकको सांस्कृतिक नीति बनाउन कार्यदल गठन गरिएको र सोको प्रतिवेदनका आधारमा नीति र कानुन बनाई कार्यान्वयन गरिने विश्वास दिलाउँदै मन्त्री किरातीले विश्व मञ्चमा प्रभावशालीरुपमा नेपाललाई उपस्थिति जनाउन सक्ने माध्यमका रुपमा संस्कृतिलाई विकास गरिने बताए । हालका ५२ प्रतिशत आयोजना सफल नहुनुमा संस्कृतिमैत्री आयोजना नहुनु पनि कारण रहेको मन्त्री किरातीको भनाइ थियो ।

    संस्थानका महाप्रबन्धक अशोककुमार राईले यही मङ्सिर २९ गते विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट ठेट नेपाली सांस्कृतिक कार्यक्रमको उद्घाटन हुने जानकारी दिँदै नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुति समावेश हुने कार्यक्रमलाई टिकट बेचेर साप्ताहिकरुपमा नियमित सञ्चालन गर्ने बताए ।

    राईका अनुसार लोकसांस्कृतिक प्रस्तुतिसहित गौतमबुद्ध, अरनिको, भृकुटी, सीतालगायतका नेपालका विभिन्न विभूति एवं अग्रज साधकलाई विश्वमाझ चिनाउने जीवनीलाई नाटकीकरण गरिनेछ । सोको डिजिटल अभिलेखीकरण पनि गरिने जनाइएको छ । यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको पनि सहकार्य हुनेछ । नेपालका विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन प्राज्ञ अशोक राईको संयोजकत्वमा मनोज जोशी, कृष्ण गुरुङ, खड्ग बुढामगर र सुदर्शन थापा रहेको छनोट तथा परामर्श समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा डा भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमर्षि र नारायणदेवी प्रधान रहेका छन् ।

     

    श्रोत:रातोपाटी,रासस


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend