रसुवा । दुग्ध विकास संस्थानद्वारा सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।
चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।
गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप रु १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ।
बडादसैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमनलाई आजदेखि तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिए ।
श्रोत : रोतोपाटी