Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणकै आसपास किन उठ्छ नक्साको विवाद ?

प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणकै आसपास किन उठ्छ नक्साको विवाद ?

  • समाचार
  • भाद्र १५, २०८० शुक्रवार १८:३८ बजे
  • 889
    SHARES
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणको तयारी गरिरहँदा भारतले आफ्नो संसद् भवनमा अखण्ड नक्सा राखेको थियो, जसमा केही नेपाली भूभागलाई पनि समेटिएको थियो ।

    सो नक्साका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादमा परेको थियो । अहिले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणको तयारीमा रहँदा फेरि त्यस्तै विवाद उत्पन्न भएको छ । चीनले स्ट्यान्डर्ड म्याप भन्दै सोमवार जारी गरेको नयाँ नक्सामा नेपालको केही भूभाग समेटिएको छ । नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरे पनि चीनले आफ्नो नक्सामा नेपालको पुरानै नक्सालाई स्थान दिएको छ ।

     

    २०७७ मा नेपालले कलापानी, लिपुलेक, लिम्पुयाधारा समेटेर नयाँ नक्सा जारी गरेको थियो । तर चीनले अहिले नयाँ नक्सा ल्याउँदा त्यसमा बुच्चे नक्सा राखेपछि नेपालमा चीनको आलोचना भइरहेको छ । यही बिचमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बारे विवाद बढेको छ ।

     

    यसअघि भारतले जेठ १४ गते आफ्नो संसद् भवनमा राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको थियो । लगत्तै नेपालमा त्यसको विरोध भयो । त्यतिबेला प्रधानमन्त्री भारत भ्रमणको अन्तिम तयारीमा थिए ।

    भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ गएर उक्त नक्साको बारेमा कुरा गर्ने हो कि होइन भनि आम जनताबाट प्रश्न गरिएको थियो । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा यस विषयमा कुरा राख्ने भनेका थिए तर अखण्ड नक्साको बारेमा भारतीय पक्षसँग केही कुरा नगरी फर्किए ।

    अहिले प्रधानमन्त्री प्रचण्डका लागि ठिक त्यस्तै अवस्था भएको छ । अमेरिका हुँदै चीन भ्रमणमा जाने तयारीमा प्रचण्ड छन् । तर यतिबेला नै चीनले नेपालको पुरानो नक्सालाई नै स्थान दिएर आफ्नो नयाँ नक्सा सार्वजनिक ग¥यो । अहिले प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको क्रममा नक्साको बारेमा कुरा गर्ने कि नगर्ने भनि प्रश्न गर्न थालिएको छ ।

    माओवादी पार्टीको तीन महिने विशेष अभियानलाई लिएर पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि यो प्रश्नले स्थान पायो । जवाफमा सापकोटाले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको क्रममा कुरा राख्ने बताए । चीनसँग नक्सा विवादबारे प्रधानमन्त्री प्रचण्डले कुटनैतिक तवरबाट कुरा राख्ने उनले दाबी गरे ।

    ‘चीनले किन यसो गरेको भन्नेबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ’, उनले भने, ‘के कसो भएको हो, हामी बुझ्ने प्रयास गरिरहेका छौँ ।’

    भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले यसै गरी अखण्ड नक्साको बारेमा कुरा गर्ने भनेका थिए । तर नेपालको तर्फबाट त्यसको बारेमा चर्चा समेत नभएको भ्रमणमा सहभागी भएका नेताहरु बताउँछन् ।

    सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्री प्रचण्ड अमेरिका हुँदै चीन भ्रमणमा जान लाग्नु भएको छ, अहिलेको यो नक्सा विवादको बारेमा जवर्जस्त रुपमा कुरा उठाउनु पर्छ ।’ तर त्यहाँ कुरा उठाउनु भन्दा पहिले नेपालको तर्फबाट एजेण्डामा राखेर जानुपर्ने उनको सुझाव छ ।

    चीन भ्रमणमा जाँदा के के विषयमा कुरा गर्ने भनि दुवै देशको तर्फबाट एजेण्डाको बारेमा छलफल भइरहेको छ । ती एजेण्डाहरुमा चीनले जारी गरेको नक्साबारे कुरा राख्ने भनेमात्र त्यहाँ छलफल हुन्छ, नत्र छलफल नै नहुने उनको भनाइ छ । उनले नक्सा विवाद एजेण्डाकै रुपमा लगेर छलफल गर्नुपर्ने बताए ।

    एजेण्डाको रुपमा नलगिए पनि त्यहाँ हुने औपचारिक वार्ताहरु सकिएपछि प्रधानमन्त्री प्रचण्डले त्यहाँका राष्ट्रपति सी चिनफिङसँग साइड लाइन वार्तामा पनि यो कुरा उठाउनु पर्ने श्रेष्ठ बताउँछन् । ‘साइड लाइन वार्ताहरुमा कुरा उठाउन नसके चियापान, डिनर, लञ्चमा पनि नक्सा विवादको कुरा राख्नुपर्छ र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले आँट देखाउनुपर्छ,’ उनले भने ।

    श्रेष्ठका अनुसार चीनले नेपालको पुरानो नक्सा राख्नुको दुई वटा कारण हुन सक्छ । पहिलो कारण, नेपालको शिथिल कुटनीति र अर्को कारण चीनको बेवास्ता रहेको उनले बताए । ‘या त नेपालले चीनलाई आधिकारिक रुपमा नयाँ नक्साको बारेमा जानकारी गराएको छैन, जानकारी गराए पनि त्यहाँको रेसपोन्स कस्तो हो, त्यो थाहा नपाएको होला,’ उनले भने ।

    अर्को कुरा, चीनले नेपालको नक्सालाई बेवास्ता गरेको पनि हुन सक्ने उनले बताए ।

    भारतले अखण्ड नक्सा जारी गरेको ठिक चार महिना भइसक्यो तर अहिलेसम्म त्यसको बारेमा नेपालले कुटनीतिक रुपमा कुनै कुरा अगाडि बढाएको छैन । त्यसको बारेमा अहिले चासो लिन पनि छाडेको छ । अहिले चीनले पनि नेपालको नयाँ नक्सा स्वीकार संकेत आफ्नो नयाँ नक्सामार्फत देखाएको छ ।

    नेपालको नयाँ नक्सालाई भारतले पनि स्वीकार गरेको छैन । नयाँ नक्सा जारी गरेकोमा भारतले नेपालप्रति असन्तुष्टि जनाउँदै आइरहेको थियो । त्यसमा अहिले चीनले पनि साथ दिएपछि नेपाल अहिले नयाँ नक्साका बारेमा दुई देशको चेपुवामा परेको छ । prachanda_lnO9L7DRci.webp

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend