Logo

मंगलवार, कार्तिक ११ गते २०८३

माओवादीमा जर्नेल प्रवृत्ति बढेको भन्दै प्रचण्डमाथि प्रश्नको वर्षा !

माओवादीमा जर्नेल प्रवृत्ति बढेको भन्दै प्रचण्डमाथि प्रश्नको वर्षा !

  • समाचार
  • श्रावण १८, २०८० बिहिवार १८:५८ बजे
  • 760
    SHARES
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि प्रश्नको वर्षा भएको छ ।

    बैठकको दोस्रो दिन बिहीबार बोल्ने कतिपय केन्द्रीय सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप समेत लगाए । जसका कारण माओवादी केन्द्रमा गुटगत क्रियाकलाप बढ्दै गएकोमा नेताहरूले चिन्ता समेत व्यक्त गरे । साथै केही नेताले पार्टीमा जर्नेल र युवराज युवराज्ञी प्रवृत्ति बढेको भन्दै कटाक्ष गरेका छन् ।

    बैठकमा अध्यक्ष प्रचण्डको संक्षिप्त प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जगत् सिम्खडाले पार्टी गुटैगुटमा विभाजित रहेको भन्दै आक्रोश व्यक्त गरे ।

    अर्का केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले पार्टी कमजोर हुनु र बिग्रनुमा मुख्य नेता जिम्मेवार रहेको धारणा राखे ।

    प्रचण्ड रहेमात्रै पार्टी चल्ने भन्दै उनले नत्र पार्टी संकटमा फस्ने दाबी समेत गरे । उनले भने,‘पदाधिकारीहरूले आत्मालोचना गर्नुपर्छ ।’ उनले पार्टीलाई विचौलियबाट बचाउन पहल गर्नुपर्नेमा जोड समेत दिए ।

    अर्का केन्द्रीय सदस्य दुर्गा विकले भ्रष्टाचारका फाइल खोल्दा पार्टीका नेता नै परे पनि छोड्न नहुनेमा जोड दिइन् । यसैगरी प्रह्लाद बुढाथोकीले आशा र निराशाको दोधारमा पार्टी रहेको धारणा राखे ।

    यसैगरी अर्का केन्द्रीय सदस्य गगन पुरीले पार्टीको ध्यान शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा जाँदै नगएको बताए । सोही क्षेत्रमा ठुलो भ्रष्टाचार भइरहेको भन्दै उनले त्यो भ्रष्टाचार नियन्त्रणमा पार्टीकातर्फबाट ध्यान जान जरुरी रहेको बताए ।

    केन्द्रीय सदस्य विशाल खड्काले भने पार्टी बनाउन नेताहरूको कामको दैनिक डायरी पार्टी कार्यालयमा पठाएर अभिलेख राख्नुपर्ने धारणा राखे ।

    अर्का केन्द्रीय सदस्य आइपी खरेलले प्रचण्डले बोलेको हर कुरा पुरा गर्नुपर्नेमा जोड दिए । उनले प्रश्न गर्दै भने, ‘सधैँ रूपान्तरण मात्रै भन्ने ? नीतिगत मापदण्ड खै ? आफूले बोलेको कुरा अध्यक्ष प्रचण्डले पुरा गर्नै पर्छ ।’

    केन्द्रीय सदस्य रामदीप आचार्यले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘रिसर्च सेन्टर’ स्थापना गर्न माग गरे ।

    अर्का केन्द्रीय सदस्य सुरेश आलेमगर नेपालको राजनीति अझैपनि अध्यक्ष प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रशंसा गरेका थिए ।

     ‘पार्टीमा किन उभार आएन ? समीक्षा हुन जरुरी छ’, अर्का केन्द्रीय सदस्य डीपी ढकालले प्रश्न गरे, ‘हामीले नीति सम्मेलन भनेका छौँ । समाजवादमा जाने चाहिँ कहिले हो ?’

    यी बोहक दोस्रो दिनको बैठकमा विष्णुप्रसाद भट्ट, लक्ष्मी पुन, भीमकुमार बुढामगर, दीपेन्द्र पुन, हरिनारायण चौधरी, दिलीप साह, हरिराज अधिकारी, माधव सापकोटा, शिवराम यादव, केशवराज योगी, दिलीप प्रजापति, हितबहादुर तामाङ, लेखनाथ न्यौपाने, विमल अधिकारी,वीरबहादुर राउत, दलजीत श्रीपाली, रणेन्द्र बराइली, दुर्गा विक, प्रकाश श्रेष्ठ, विमला सुवेदी, कृष्णबहादुर महरा र कालीबहादुर मल्ललगायतले धारणा राखेको उपाध्यक्ष समेत रहेका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पहिलो दिनको बैठकमा भने १८ जनाले बोलेका थिए । अव तेस्रो दिनको बैठक शुक्रवार बिहान ११ बजे बस्ने नेताहरूले बताएका छन् ।  

    maobadi.jpg

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend