काठमाडौँ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् ।
नेपाल बिग माउण्टेन ट्राभलले बुधबार पत्रकार सम्मेलन गरी चनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जानकारी दिएको हो ।
शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा पाएको बताइन् ।
नेपाल पर्वतारोहण सङ्घका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन । यसवर्ष सगरमाथा आरोहणको ७०औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदैछ भने यसवर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति लिएका छन् । यस वर्षको आरोहण शनिबारदेखि सुरु भएको हो ।
श्रोत : रासस