Logo

मंगलवार, कार्तिक ११ गते २०८३

भृकृटीमण्डपको सार्वजनिक पुस्तकालयमा छानो चुहिएर भिज्न थाले पुस्तक

भृकृटीमण्डपको सार्वजनिक पुस्तकालयमा छानो चुहिएर भिज्न थाले पुस्तक

  • समाचार
  • बैशाख १९, २०८० मंगलवार १७:५९ बजे
  • 511
    SHARES
  • काठमाडौँ । काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भुईँ तहमा रहेका महत्त्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् ।  

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको छ । मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ ।

    पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् । 

    पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट चालु आवमा रु ५० लाख बजेट विनियोजन भएको थियो । पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आबद्ध छन् । 

    समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क रु तीन सय मात्रै रहेको छ ।

    वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख र विशिष्ट व्यक्तिले विभिन्न समयमा यो पुस्तकालयको भ्रमण गरिसकेका छन् । 

    पुस्तकालयमा गत महिना संयुक्त अरब इमिरेट्स (युएइ) का नेपालस्थित राजदूतले भ्रमण गरी आफ्नो मुलुकसँग सम्बन्धित सूचना केन्द्र राख्ने गरी सहयोग गर्न चासो दिएका थिए ।

     

    श्रोत : रासस


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend